दफा ४१
दर्ताको प्रमाणपत्र खारेज गर्ने
(१) यस ऐनबमोजिम दर्ता भएको कुनै सवारी कुनै किसिमले नासिएमा वा चल्न नसक्ने गरी बिग्रिएमा वा सधैंको लागि नेपाल बाहिर लगिएमा सवारी धनीले तीस दिनभित्र दर्ताको प्रमाणपत्र संलग्न राखी त्यस्तो सवारीको लगत कट्टा गर्न अधिकार प्राप्त अधिकारी समक्ष तोकिएको ढाँचामा दरखास्त दिनु पर्छ ।
तर पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण सवारी वा त्यस्तो सवारीको कुनै पार्टपूर्जा नेपालबाहिर लग्न परेमा सवारी धनीले अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति लिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा साँचो देखेमा त्यस्तो दर्ताको प्रमाणपत्र खारेज गरी सो को ब्यहोरा दर्ता किताबमा जनाई त्यस्तो सवारीको लगत कट्टा गर्नु पर्छ ।